सुचना, समाचार र मनोरन्जन

‘१२ गाउँ’ को पहिलो गीत ‘जुनेली’ रिलिज: पर्दामा समीर र कृशुको धमाकेदार ब्रेकडान्स

काठमाडौं :

अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ’ (वा १२ गाउँ २) को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता समीर भट्ट र नवअभिनेत्री कृशु शाही ‘काफिया’ को आकर्षक नृत्य तथा ब्रेकडान्स देख्न सकिन्छ।

लामो समयपछि नेपाली चलचित्रमा ब्रेकडान्सलाई विशेष स्थान दिएर तयार पारिएको यस गीतको भिडियोलाई दर्शकले अत्यधिक रुचाउने विश्वास निर्माण पक्षको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतमा युग भुषालको शब्द तथा संगीत रहेको छ भने सुगम पोखरेलले सुमधुर स्वर दिएका छन्। अडियोभन्दा भिडियो निकै आकर्षक बनेको यो गीतले यसअघि ‘फस्ट लुक’ पोस्टरबाट सिर्जना भएको दर्शकको उत्साह (हाइप) लाई अझ माथि पुर्‍याउने अपेक्षा गरिएको छ।

Protin

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्। सरस्वती भट्टको लगानी रहेको यो चलचित्र आगामी असोज ३० गते दशैंको फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदैछ।

चलचित्रमा समीर र कृशुका साथै निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ। यसै चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन्।

चलचित्रमा युग भुषाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

Leave A Reply

Your email address will not be published.