सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा तीज साँस्कृतिक महोत्सव भोली देखि, सम्पूर्ण तयारी पुरा

पोखरा ।

पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम भोली देखि हुँदैछ । हरितालिका तीजको छेकोमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा हुँदै गरेको महोत्सवलाई पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको हो । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहनेछ । कार्यक्रमका लागि नै भनेर उनीहरु पोखरा आइपुगेको टेवानकी अध्यक्ष कमला गिरीले जानकारी गराइन । उनका अनुसार साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

महोत्सवको उदघाटन नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने उनले बताइन् । सोमबार बिहान ११ बजे बाराही चोकबाट ¥याली सुरु हुनेछ । १२ः ३० बजे उदघाटन कार्यक्रमको समय तोकिएको उनले उल्लेख गरिन् ।

स्टेज डेकोरेसन देखि प्रचारप्रसारका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । लेकसाइड स्थित कोमागाने पार्कमा हुने महोत्सव पहिलो संस्करण हो । तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ ।

महोत्सव मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । ‘पर्यटन व्यवसायमा अहिले अफसिजन चलिरहेको छ । अफसिजनमा पनि पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित महोत्सवको आयोजना गरेका हौं । आशा छ सफल पार्न सबैको साथ मिल्नेछ ।’, गिरीले भनिन् ।

हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको टेवानकी महासचिव अनिता खड्का भट्टराईले बताइन् । महिला उद्यमशिलताको विकास, आर्थिक चलायमान, रोजगारी सिर्जना, समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले महोत्सवको आयोजना गरिएको हो । आर्थिक मन्दीले थलिएको पर्यटन व्यवसायलाई माथि उठाउने लक्ष्य महोत्सवको छ । महोत्सव प्रवेशका लागि कुनै शुल्क नलाग्ने गिरीले उल्लेख गरिन् । निशुल्क नै तीज सांस्कृतिक महोत्सवको अवलोकन गर्न पाइनेछ ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत महोत्सवमा रहनेछ । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुने महोत्सवलाई सफल पार्न पोखरा पर्यटन परिषद, रेवान लगायतका पर्यटन सम्बद्ध संघसंस्थाहरुको समेत सहयोग छ ।

Leave A Reply

Your email address will not be published.