सुचना, समाचार र मनोरन्जन

निजी क्षेत्रको मनोबल नबढाई अर्थतन्त्रमा सुधार कठिन छः नेता पुन

काठमाडौँ/

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिसभामा बिहीबार विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अन्त्यका लागि विज्ञसहित सम्बद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । व्यवसायीहरूमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरुमा रकम थुप्रिएर बसेको उनको भनाइ थियो । पूर्वअर्थमन्त्रीसेमत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए । ‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ । मन्त्रिपरिषद र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ । बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रूपमा अर्थतन्त्र चलायमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ । निजी क्षेत्रसहित सरोकारवाला सबैको सुझाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ ।’ उनले दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिए पनि विगतका वर्षहरूमा जस्तो आयात नहुनुको कारण खोज्न सरकारलाई आग्रह गरे । सेयर बजार र घरजग्गाको कारोबारमा सुस्तता आएको, साना लगानीकर्ता टाट पल्टिएको र ठुला लगानीकर्ता पनि समस्यामा परेको उनको भनाइ थियो । चाडपर्वमा कालोबजारी र अभाव रोक्न र सहज रूपमा उपभोग्य सामान पाउने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका सिप र धन नेपालको विकासमा लगाउन नीतिहरूमा आवश्यक लचकता अपनाउन जरुरी रहेकोमा जोड दिए । संविधानको व्यवस्थाअनुसार हालै जारी भएको नागरिकता विधेयकले गैरआवासीय नागरिकताको व्यवस्था गरेको भए पनि व्यवहारिक जटिलता देखिएकाले त्यसमा सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएकामा आफू र आफ्नो दलको तर्फबाट दुःख व्यक्त गरे । सरकारले घटनालगत्तै राष्ट्रिय शोक घोषणा गरेको, सर्वदलीय बैठक बोलाएर संकटको घडीमा सबै रानजीतिक दल र सिंगो मुलुक एक ढिक्का रहेको सन्देश दिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए । सरकारले युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराइसकेको र नेपाल ल्याउन परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाएको भन्दै सरकारले प्रशंसा गरे ।

इजरायलमा रहेका थप नेपालीको सुरक्षा र इच्छुकहरुको नेपाल फिर्ती सहज बनाउन पुनले माग गरे । संसारकै सबैभन्दा बलियो हवाई सुरक्षा तथा बलियो सेना र प्रभावकारी गुप्तरी भएको इजरायलमा भएको आक्रमणलाई सामान्य रूपमा लिन नहुने पुनले बताए ।

Leave A Reply

Your email address will not be published.