सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

मोफसलका हलमा ‘परदेशी २’ टिम, दर्शकसँगै बसेर फिल्म हेर्दै प्रकाश सपुत, केकी र वर्षा

काठमाडौं :

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले रुचाइरहेका छन् । काठमाडौं उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ ।

आइतवार पनि धेरै हल भरिभराउ भएका थिए । प्रदर्शनकै दिनदेखि निर्माण टिमले काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको छ । चलचित्र हेरिसकेका दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । आजको नेपाली समाजको प्रतिनिधि कथामा बनेको चलचित्र भन्दै हलबाट निस्किँदै गरेका अधिकांश दर्शकका आँखा रसाएको देखिन्थे । त्यसक्रममा कतिपय दर्शकहरू कलाकारहरूको अंगालोमा रोएको भिडियो समेत सामाजिक सञ्जालमा छाइरहेका छन् ।

IVF Big

दर्शकहरूले निर्माण टिमलाई अहिलेको समयको वास्तविक कथालाई उतारेकोमा बधाई र धन्यवाद दिँदै हलबाट निस्किरहेका छन् । काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएपछि कलाकारहरू अब भने मोफसल यात्रामा निस्किने भएका छन् । अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् ।

उनीहरूले दर्शकलाई भेट्ने, हलमा संगै बसेर चलचित्र हेर्नुका साथै चलचित्रलाई साथ दिएकोमा प्रत्यक्ष धन्यवाद समेत दिनेछन् । मोफसलका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् । आइतवार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् । दर्शकबाट ‘परदेशी २’ले सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । हरेक उमेर समूहका दर्शकलाई चलचित्रले हलसम्म तान्न सफल भएकोमा निर्माण टिम खुशी देखिएको छ । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई चलचित्रमा देखाइएको छ ।

विदेशमा रहँदा एकातर्फ देशको सम्झनाले सताउने, अर्कोतर्फ सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडाको समसामयिक कथालाई चलचित्रमा मर्मस्पर्शी तरिकाले सरल रुपमा प्रस्तुत गरिएको छ ।यस चलचित्रका निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका थिए । ‘परदेशी’ प्रदर्शनमा आएको ८ वर्षपछि रायमाझीले यसको दोस्रो श्रृंखला ल्याएका हुन् ।

Leave A Reply

Your email address will not be published.