सुचना, समाचार र मनोरन्जन

आर्टमान्डूको ‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा युवतीको प्रेम कथा

काठमाडौं :

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्म रिलिज गरेको हो। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ।

‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो। पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ,’ भिडिओ सार्वजनिक गर्दै फेसबुक पोस्टमा निर्देशक नवीन चौहानले सम्झिएका छन्। गीतको एक अन्तरा छ–

पञ्चमी हाटबजार मेलैमा
कर्कले पानी हौ होस् गर बेलैमा

Protin

करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत् भिडियोमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ। ‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिलेयो बजार धेरै उजाडिएको छ,’ नवीन भन्छन्।

गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन्। गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भुषणकै कम्पोजिसन छ।
भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। भिडियोलाई योगेश ढकालले खिचेका छन्। भिडियोलाई नवीन र केर कोइँच लिनुचले निर्देशन गरेका छन्।

यसअघि आर्टमान्डूका पाहुना हजुर, फूलथुंगे रानी, तीनपाते, घुमीघुमी, चन्द्रमा, के माया लाग्छ र लगायत अधिकांश भिडिओ लोकप्रिय छन्। अहिले आर्टमान्डू फिल्म ‘ऊनको स्वीटर’ निर्माण तयारीमा छ।

Leave A Reply

Your email address will not be published.