सुचना, समाचार र मनोरन्जन

कांग्रेसले पुस १६ गते मेलमिलाप दिवस मनाउने

काठमाडौँ/

नेपाली कांग्रेसले पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै २०३३ साल पुस १६ गते स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल)  र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।

कांग्रेसले आगामी सोमबार काठमाडौंको प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नारा बनाएको हो ।

Leave A Reply

Your email address will not be published.