पोखरा ।
पोखरा महानगरपालिका वडा नं.१४ मा पर्ने बिपी मार्गको स्तरोन्नति गरिने भएको छ । उक्त मार्गलाई स्तरोन्नति गरी वैकल्पिक सडकको रूपमा प्रयोग गरिने भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको अवलोकन गरी स्तरोन्नतिका लागि निर्देशन दिएका हुन् । पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पश्चिम खण्डमा पर्ने पोखरा तर्फ सडक निर्माण कार्यमा बाधा नपरोस् र निर्माण कार्य छिटोछरितो होस् भन्ने उद्देश्यले उक्त सडकलाई वैकल्पिक सडकका रूपमा प्रयोगमा ल्याउन लागिएको हो ।
विजयपुर पुलदेखि माटेपानी हुँदै मेहन्द्रपुल र मियाँपाटन हुँदै अमरसिंह चोक निस्कनका लागि उक्त सडक प्रयोग गर्न सकिनेछ । यसो गर्दा मुख्य राजमार्गमा सवारीको चाप कम हुने र निर्माण कार्यमा सहजता पुग्ने विश्वास गरिएको छ ।
हाललाई खाल्डाखुल्डी पुरेर लेवलिङ गरिने उक्त सडकलाई आवश्यक प्रक्रिया पुराएर महानगरपालिको रिसिलिङ् गर्ने प्रमुख आचार्यले बताए ।