सुचना, समाचार र मनोरन्जन

कलाकारसँगै बसेर पोखरेली दर्शकले हेरे “चित्रा”, सकरात्मक प्रतिक्रिया

‘रिलिज भएपछि हामी यतिबेला हलहलमा पुगेका छौं । दर्शकसँगै बसेर सिनेमा हेरिरहेका छौं । जतिले हेर्नुभएको छ, रुचाउनु भएको छ । सकरात्मक प्रतिक्रिया आएको छ ।’

सन्तोष बस्याल
पोखरा ।

पौष २७ गतेबाट रिलिज भएको नेपाली सिनेमा चित्रा अहिले हलमा प्रदर्शन भइरहेको छ । जसमा मुख्य पात्र छन् सन्तोष अधिकारी । उनी पनि पोखरेली नै हुन् । घनश्याम लामिछानेको निर्देशनमा चित्रा मार्फत अभिनयमा डेब्यू गरेका अधिकारीसँगै बसेर पोखरेली दर्शकले सिनेमा हेरेका छन् । पोखरा मिडटाउन सिनेमाजमा चित्राका कलाकार सन्तोष अधिकारी, सिम्रन खड्का, निर्देशक लामिछानेसँगै बसेर दर्शकले सिनेमा हेरका हुन् ।

चित्राले दर्शकको सकरात्मक प्रतिक्रिया पाएको छ । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकले चित्रालाई रुचाएका छन् भन्दा अत्युक्त नहोला । सन्तोष अधिकारीको डेब्यू सिनेमा भएता पनि उनले अभिनयमा मेहेनत गरेको देखिन्छ । बाबु छोरीको कथामा आधारित सिनेमामा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता कलाकारहरुको पनि अभिनय छ । आफु भित्र अभिनयको रुची भएकाले पनि चित्रा मार्फत दर्शक माझ आएको अधिकारी बताउँछन् । यसअघि उनी सिनेमामा लगानी गर्थे । कार्यकारी निर्माताका रुपमा उनले सुरक्षा पन्त अभिनित आमामा काम गरिसकेका छन् ।

चित्रा मार्फत अधिकारी आशावादी देखिन्छन् । सामाजिक विषयवस्तु भएकाले चित्राले दर्शकको मन छुनेमा विश्वस्त छन् । प्रिमियरमा राम्रो तारिफ पाएका अधिकारीले हलमा प्रदर्शन पश्चात पनि दर्शकको सकरात्मक प्रतिक्रिया पाएको उल्लेख गरे । ‘रिलिज भएपछि हामी यतिबेला हलहलमा पुगेका छौं । दर्शकसँगै बसेर सिनेमा हेरिरहेका छौं । जतिले हेर्नुभएको छ, रुचाउनु भएको छ । सकरात्मक प्रतिक्रिया आएको छ ।’, उनले भने ।

 

छोरीको भूमिकामा देखिएका सिम्रन खड्काले पनि चित्रामा मूख्य भूमिकामा नै आफुलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको उल्लेख गरिन् । अभिनयमा लागिरहेता पनि राम्रो भूमिका नपाउँदा सिम्रन छायाँमा थिइन् । चित्रा मार्फत उनलाई सिनेमामा आश जागेको छ । भन्छिन्,“सिनेमामा अभिनय गर्ने रहर पहिले देखिनै थियो । अहिले आएर पुरा हुँदैछ । चित्रा मेरा लागि करियरको अर्को विन्दु हुनेछ ।” उसो त सिम्रनले यसअघि सिनेमा प्रेमगञ्जमा समेत काम गरिसकेकी छिन् । चित्रामा उनको अभिनयलाई देखेर नेपालको चर्चित कलाकारहरुले समेत तारिफ गरेका छन् । सिम्रनले आइडल मानेका बाट नै प्रशंसा पाइरहेकी छिन् । दर्शकले समेत उनको अभिनयलाई रुचाएका छन् ।

यता निर्देशक घनश्याम लामिछाने समेत सिनेमालाई लिएर आशावादी छन् । पोखरामा रहेर निरन्तर सिनेमा कर्ममा खटिएका निर्देशक लामिछानेले चित्रा आफ्ना लागि पनि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरे । दर्शकले समेत उनको निर्देशकिय क्षमतालाई प्रशंसा गरिरहेको पाइन्छ । बाबु छोरीको कथालाई पृथक रुपमा चलिरहेको ट्रेनअनुसार प्रस्तुत गर्दा दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् ।

सन्तोष र सिम्रनसँगै चित्रामा प्रकाश घिमिरे, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल आदी कलाकारको अभिनय रहेको छ ।

अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । आवाजमा राजनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् । महेश पौडेलको छायाँकन,सन्देश शाहको सम्पादनमा तयार भएको फिल्ममा आशिस थापा मगरको पनि लगानी छ ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् एएसएपी इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको अष्ट्रेलियाको वितरण अधिकार अविनास रोका मगरलाई दिइएको छ । फिल्मको लागत डेढ करोड नाघेको निर्माण पक्षको दावी छ । फिल्मको नेपालभरको लागि डिस्ट्रिब्युटरको जिम्मा श्री कृष्ण फिल्म्सले पाएको छ । फिल्मको छायाकंन कास्कीको घाचोक र पोखरा आसपास गरिएको हो ।

Leave A Reply

Your email address will not be published.