सुचना, समाचार र मनोरन्जन

पोखराको पर्यटनलाई दिगो बनाउन साढे ४ अर्बको सम्झौता

पोखरा ।

पोखराको पर्यटनलाई दिगो विकास गर्न साढे ४ अर्बको परियोजना लागू हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर अनुदानको सम्झौतामा हस्ताक्षर भएको छ ।

Gokarna Karki

सम्झौतापत्रमा मन्त्रालयका सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् । उक्त रकम दिगो पर्यटन विकास तथा जीवन सुधारसम्बन्धी परियोजनामा खर्च हुनेछ ।

त्यसमध्ये पोखरा महानगरपालिकासँग साढे ४ अर्बको सम्झौता भएको मेयर धनराज आचार्यले जानकारी दिए । सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशन कुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरे ।

परियोजना अन्तरगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका परियोजना कार्यान्वयन हुनेछन् ।

‘यो सम्झौता सामान्य होइन । यसले निकै ठूलो प्रभाव पोखरामा पर्छ,’ उनले भने, ‘पोखराको समग्र पर्यटन विकासमा महत्त्वपूर्ण टेवा दिन्छ ।’ पोखरालाई छिटै पर्यटनको राजधानी घोषणा गर्ने प्रक्रियामा रहेको भन्दै उनले राजधानी घोषणा भएपछि परियोजनाले विशेष प्रभाव पार्ने बताए ।

सम्झौताको कार्यान्वयनका लागि महानगरको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजिकरण गर्ने आचार्यको प्रतिबद्धता छ । यसपछि महानगरमा परियोजना कार्यान्वयनको कार्यालय स्थापना गरेर कर्मचारी समेत नियुक्त भइसकेका छन् । दिगो पर्यटनका १५ वटा विभिन्न परियोजनाहरू सम्पन्न गर्न साढे ७ अर्ब लागत अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

उनका अनुसार पहिलो चरणमा साढे ४ अर्बको सम्झौता भएको हो । परियोजनाका सम्बन्धमा एडिबी कार्यालयको तर्फबाट विभिन्न चरणमा स्थलगत अवलोकन समेत भइसकेको उनले सुनाए ।

Leave A Reply

Your email address will not be published.