सन्तोष बस्याल /पोखरा :
आज भन्दा ४५ वर्ष अगाडि पोखरेली युवा सांस्कृतिक परिवारको उदयसँगै टिकटमा मुक्तक कार्यक्रमको सुरु भएको थियो । जतिबेला टिकट दर थियो २ रुपैयाँ । उक्त कार्यक्रममा मुक्तक वाचनका लागि हरिभक्त कटुवालसँगै मुक्तककारहरु विश्वविमोहन श्रेष्ठ र बुँद राना आएका थिए ।
कटुवाल कार्यक्रमको प्रमुख अतिथि थिए । ४५ वर्ष पछि श्रेष्ठ र राना फेरि मुक्तकका साथ मञ्चमा उपस्थित भए । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको टिकटमा मुक्तक कार्यक्रम हेर्न पोखरा उद्योग बाणिज्य संघको सभाहल भरियो । बच्चा देखि बुढासम्मले मुक्तकको मज्जा लिए ।
दश वर्ष अघि पनि यसरी नै पोखरामा टिकटमा मुक्तक कार्यक्रम भएको थियो । जसलाई अवलोकन गर्न आज जस्तै दर्शकको बाक्लो उपस्थिति थियो । मुक्तककारहरुले मुक्तक प्रस्तुत गरिरहँदा दर्शकबाट वान्स मोरको आवाज समेत सुनियो । साहित्यिक कार्यक्रम विरिलै सुन्न पाइन्छ । टिकटमा मुक्तक कार्यक्रममा २९ मुक्तककारहरुले मुक्तक वाचन गरे ।
देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था देखि प्रेमिल मुक्तक दर्शकले सन्ने अवसर पाए । मुक्तकारहरु सरुभक्त, बुँद राना, उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, रामकाजी कोने, रुद्र ज्ञवाली, रमेश श्रेष्ठ, सरस्वती प्रतिक्षा, डा.ईश्वरमणि अधिकारी, दीपक समिप, सुरेश रानाभाट, सरस्वती श्रेष्ठ (सरु), मन क्षेत्री, लक्ष्मण थापा, गौरी तमु, शिव त्रिपाठी, डा.भूमिराज बस्ताकोटी, जीवनसागर भण्डारी, सरला लामिछाने ‘सरु’, प्राञ्जल, कपिल शर्मा, रुपिन्द्र प्रभावी, भुवन क्षेत्री, सावित्री गिरी, कृष्ण सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, सञ्जीव पौडेल, श्रीराम अधिकारी ‘गोर्जे’, अमृता पोखरेलले तीन तीन वटा मुक्तक प्रस्तुत गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उदघाटन गर्दै पोखराको साहित्य, कलाको विकासमा महानगर साथमा रहेको बताए ।
सरुभक्तले टिकटमा मुक्तक कार्यक्रम पोखरेलीको कार्यक्रम भएको उल्लेख गरे । जसले नेपालभर नै चर्चा पाएको छ । कला, साहित्य प्रति विश्वास बढाउन यस्ता कार्यक्रमले मदत पुग्ने विश्वास उनको छ । कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष उपेन्द्र पौडेलले टिकटमा मुक्तक कार्यक्रमलाई निरन्तरता दिँदै जाने उल्लेख गरे । टिकटमा मुक्तक कार्यक्रमले सिर्जनाको पनि मुल्य हुन्छ भन्ने मान्यता स्थापित गर्दै स्रष्टाका रचना र वाचन टिकटमा सुन्नु पर्ने संस्कारलाई संस्थागत गरेको उनले बताए ।