पोखरा /
पोखरा नागढुङ्गास्थित न्यु मोडेल माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा शैक्षिक पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यालयको नामअनुसार समयसापेक्ष नमुना कार्य सम्पादन गरेको बताए । विद्यार्थीलाई स्वदेशमै बस्न सक्ने सम्भावना छ भनी त्यही जनशक्ति तयार पारेर उत्प्रेरित गर्नुपर्ने सुझाव दिए ।
निजी शैक्षिक संस्थाको इतिहासमा ४३ वर्ष निरन्तर क्रियाशील हुनुले विद्यालयको शाख बढेको आचार्यको धारणा थियो । विद्यालयले दिने शिक्षासँगै माटोप्रतिको ममता जगाउन, अनुशासन र संस्कार सिकाउन अपरीहार्य रहेको शुभकामना दिने वक्ताहरूको धारणा रहेको थियो । कार्यक्रममा प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, शिक्षाविद् प्राज्ञ ऋषि काफ्ले, अभिभावक सुरेश रानाभाट, पूर्व विद्यार्थी तुलसी खत्री, विद्यार्थी प्रशंसा शर्माले शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।
विद्यालय प्राचार्य लक्ष्मण पोखरेलले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जिल्ला र प्रदेश स्तरमै उत्कृष्ट नतिजा निकालेको बताए । वि.सं. २०३७ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नो भवनमा सञ्चालित विद्यालयले कक्षा ११ र १२ मा व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गर्दै आएको छ । सो अवसरमा विद्यार्थीले प्रस्तुत गरेको लोक भजनलाई सबै आमन्त्रित अतिथि र अभिभावकले मन पराएका थिए ।
शिक्षाको महत्व, स्वदेश प्रेमको भावना र समसामयिक विषयलाई नेपाली पोशाखमा खैँजडी, मुजुरा र मादल बजाएर भजन गाएका थिए । अतिरिक्त क्रियाकलाप अन्तर्गत् विद्यार्थीले कविता वाचन, लघु नाटक, तेक्वान्दोको अभ्यास, नृत्य, गायन, साँस्कृतिक कार्यक्रम र फेसन सो प्रस्तुत गरेका थिए । विद्यालयले कोरोनाकालमा रोकिएको शैक्षिक सत्र २०७८ र २०७९ तर्फ विद्यार्थीलाई विभिन्न पुरस्कार वितरण गरेको जानकारी सहयाक प्राचार्य पदम बस्ताकोटीले दिए ।
१५ वर्षभन्दा बढी शिक्षण कार्यमा संलग्न शिक्षक कृष्ण गुरुङ र शिक्षिका शान्ता देवकोटालाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकका रूपमा केशमाया गुरुङलाई सम्मानित गरिएको थियो । विद्यालय सञ्चालक समितिकी अध्यक्ष प्रभा बराल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चालक समितिका सदस्य क्षेत्रबहादुर क्षेत्रीले गरेका थिए भने कार्यक्रम सञ्चालन सहायक प्राचार्य पदम बस्ताकोटीले गरेका थिए ।