सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नेपाली युवा उद्यमी मञ्चको टोली चीनको ग्वाङझाउ भ्रमणमा

कास्की :

नेपाली युवा उद्यमी मञ्च पोखराको २१ सदस्यीय टोली चीनस्थित ग्वाङझाउ सहरको औपचारिक औद्योगिक भ्रमणमा जाने भएको छ । ग्वाङझाउ पोखरा महानगरपालिकाको भगिनी सहर भएकाले भ्रमण टोलीले पोखराको पर्यटनको प्रचारप्रसार गर्दै पोखरा घुम्न निम्तो दिने छन् ।
दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाउने, व्यापारका अवसरहरू खोज्ने र साँस्कृतिक आदानप्रदानलाई अभिवृद्धि गर्ने लक्ष्य भ्रमण टोलीको छ । यही फागुन २० गते देखि २६ गते सम्म ६ रात ७ दिनको लागि तय गरिएको भ्रमणले पोखरा र ग्वाङझाउबिचको समग्रमा नेपाल र चिनको सहकार्य र आपसी वृद्धिलाई प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ जानकारी मञ्चका अध्यक्ष निरन के.सी.ले जानकारी दिएका छन् ।

मञ्चको ग्वाङझाउ भ्रमणको मुख्य उद्देश्य नेपाल र चीनबिचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनु र व्यापार तथा लगानीका अवसरहरूलाई प्रवद्र्धन गर्नु रहेको छ । सरकारी अधिकारीहरू, व्यापारिक नेताहरू, र उद्यमीहरू लगायत प्रमुख सरोकारवालाहरूसँग संलग्न भएर, नेपाली युवा उद्यमी मञ्च पोखराले दुवै देशको अर्थतन्त्रलाई फाइदा हुने संवाद र सहयोगलाई सहज बनाउने लक्ष्य राखेको छ । यस भ्रमणले चिनियाँ लगानीकर्ताहरूलाई पोखराको लगानी क्षमता र पर्यटन, कृषि, नवीकरणीय ऊर्जा र प्रविधि जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्यलाई प्रोत्साहन गर्ने छ । साथै नेपाली र चिनियाँ व्यवसायहरू बिचको नेटवर्किङ अवसरहरू, आर्थिक वृद्धि र रोजगारीका अवसरहरू सिर्जना गर्न सक्ने साझेदारी र संयुक्त उद्यमहरूलाई प्रवद्र्धनको अवसर पहिचान गर्ने हुनेछ ।

आर्थिक उद्देश्यका अतिरिक्त, भ्रमणले पोखरा र ग्वाङझाउबिचको सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै दुई राष्ट्रका सहरबिच आपसी समझदारी र मित्रतालाई बढावा दिनेछ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यस भ्रमणले भगिनी सहर ग्वाङझाउ र पोखरा महानगरपालिकाको सम्बन्ध अझ धेरै प्रगाढ हुने साथै पोखाराको पर्यटन सुस्ताएको अवस्थामा टेवा पुग्ने बताए साथै यस भ्रमण फलदायी रहने आशा राख्दै नेपाली युवा उद्यमी मञ्च पोखराको चीन भ्रमणलाई सफलताको शुभकामना सहित पोउवा संघका पदाधिराकिहरूले भ्रमण टोलीलाई खादा लगाई शुभयात्राको सन्देश दिए ।

IVF Big

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ तथा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भ्रमण फलदायी रहेन आशा राख्दै नेपाली युवा उद्यमी मञ्च पोखराको चीन भ्रमणलाई सफलताको शुभकामना व्यक्त गरे । नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन के.सी.ले मञ्चको पहिलो पटक संस्थागत औपचारिक वैदेशिक भ्रमण आयोजना गरिएको बताए । मञ्चका भ्रमण टोलीले द्विपक्षीय सहयोग र लगानीका अवसरहरूबारे छलफल गर्न ग्वाङ्झाउका सरकारी अधिकारीहरू र सम्बन्धित मन्त्रालयहरूसँग भेट गर्नेछन् । पोखरा तथा गण्डकी प्रदेशको सम्भाव्यता देखाउन र चिनियाँ उद्यमीहरू र लगानीकर्ताहरूसँग सम्पर्क स्थापित गर्न गण्डकी प्रदेश मुस्ताङ जिल्लासँग जोडिएको नेपाल चीनको सिमाना कोरला नाकाको दुई तर्फी व्यापार करिडोर स्थापना गरी निकासी तथा आयातमा सहजता ल्याउने उद्देश्यले औचारिक प्रस्ताव गर्न सरकारी अधिकारीहरूबिच गरिने सेमिनार र नेटवर्किङ कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने छ।

भ्रमण टोलीले औद्योगिक क्षेत्र, नवप्रवर्तन केन्द्रहरू र विभिन्न कम्पनीहरूको साझेदारी र लगानीका अवसरहरूको खोजी गर्नेछ । चिनियाँ पर्यटकलाई आकर्षित गर्ने र सम्भावित पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन गर्नुका साथै दुई देशबिच सांस्कृतिक समझदारी र नेपाली पर्यटन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम तथा चिनिया प्रदर्शनी अवलोकन र मायाको चिनो आदानप्रदान गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष के.सी.ले जानकारी दिए ।

भ्रमण टोलीमा मञ्चका पूर्व अध्यक्ष तथा नेपाल चाइना उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका वर्तमान अध्यक्ष वैभव पौडेल, मञ्चका पूर्व अध्यक्ष तथा नेपाल हवाई खेलकुद संस्थाका वर्तमान अध्यक्ष सुनीलबहादुर भट्टराई संलग्न रहने छन् । ग्वाङ्झाउका सरकारी अधिकारीहरू र सम्बन्धित मन्त्रालयहरूसँग भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा वैभव पौडेलसँग होटल तथा पर्यटन व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गर्न औपचारिक कार्यक्रम तय भएको र हवाई खेलकुदको माध्यमबाट पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने अर्को औपचारिक कार्यक्रम सुनिलबहादुर भट्टराईसँग पनि तय भएको छ ।

चीन भ्रमणको चाँजोपाँजो मिलाउने पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, संयोजकद्वय बिजेशशंकर पालिखे र अखिलेश पालिखेका प्रति धन्यवाद ज्ञापन गरिएको थियो । पत्रकार सम्मेलनको सञ्चालन नुरज बाटाजूले गरेका थिए । नेपाली युवा उद्यमी मञ्च एक गैरनाफामुलक सामाजिक संस्था हो । सन २००३ मा स्थापित यस संस्थाको उद्धेश्य युवा उद्यमी उत्पादन गर्ने, उनीहरूलाई मञ्च दिने, युवाहरूलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने रहेको छ । संस्थाले युवा उद्यमीहरूबिच उद्यमशीलता सम्बन्धी विचार आदनप्रदान गुर्नका साथै शिक्षा, तालिम र फेलोसिपलगायतका कार्यहरू गर्दै आएको छ । संस्थामा देशका १३ वटा सहरका ८ सयभन्दा बढी युवा उद्यमीहरूको आवद्धता रहेको छ ।

Leave A Reply

Your email address will not be published.