सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

माछापुच्छ्रेमा महिला संवाद: आत्मनिर्भर बढाउन गाउँपालिका क्रियाशिल

अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) को अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको महिला संवादमा गाउँको आवाज: सशत्तीकरणका विषयमा संवाद गरिएको हो ।

पोखरा /

कास्कीको माछापुच्छ्रेमा गाउँपालिकामा महिला संवाद कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) को अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको महिला संवादमा गाउँको आवाज: सशत्तीकरणका विषयमा संवाद गरिएको हो ।

उक्त संवाद कार्यक्रममा वक्ताहरु गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, होमस्टे व्यवस्थापन समितिकी संस्थापक डम्बर कुमारी गुरुङ, कार्यपालिका सदस्य राजु कार्की, राष्ट्रिय सहकारी महासंघ एवम् लाहाचोक साना किसान कृषि सहकारीकी अध्यक्ष कमला पौडेल र महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी थिए ।

उनीहरुलाई पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरिन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँपालिका आत्मनिर्भर बढाउन क्रियाशिल रहेको उल्लेख गरे । गाउँका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमुलक तालिमहरु गर्दै आएको उनले बताए । युवा लक्षित कार्यक्रम गर्दै गाउँमा उत्पादन बढाउन गाउँपालिका प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

उपाध्यक्ष सीतादेवी अधिकारीले सडक, बाटो, पुल भन्दा पनि गाउँपालिका मानवसंशाधन विकासमा लागिरहेको बताइन् । ‘भौतिक विकास सँगै मानव संशाधन विकासमा समेत लागिरहेका छौं’, उनले भनिन्, ‘महिला दिदीबहिनीहरुको उत्थानका लागि सीपमुलक तालिम गरिरहेका छौं ।’ महिलाहरुको नेतृत्व विकासका लागि पालिका र वडा स्तरीय महिला संजालको समेत गठन गरिएको उनले बताइन् ।

होमस्टे व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष डम्बर कुमारी गुरुङले होमस्टे संचालनले महिला दिदीबहिनीहरु आत्मनिर्भर बन्दै गएको बताइन् । उनका अनुसार महिला दिदीबहिनीहरु कोहिकसैप्रति आश्रित बनेका छैनन् । विदेशमा भएका युवाहरु पनि होमस्टे व्यवसाय गर्न गाउँ फर्किएको उनले सुनाइन् । व्यवसाय राम्रै हुँदै गर्दा पनि गाउँको संस्कारमा भने ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याएकी छिन् । भाषा, भेषभूषा हराउँदै जाँदा गाउँको महत्व घट्दै जाने चिन्ता उनलाई छ । भन्छिन्, ‘परिवर्तन सबैभन्दा पहिले हामी आफैले गर्नुछ । सुरुवात नगर्दा समस्या भएको हो । संस्कार संरक्षण गर्ने दायित्व हामी सबैको हो ।’ उनका अनुसार होमस्टेबाट ल्वाङका महिला दिदीबहिनीहरुले मासिक २० हजार कमाउने गरेका छन् ।

IVF Big

कार्यपालिका सदस्य राजु शार्कीले पूर्वाधार विकासले मात्र समाज परिवर्तन नहुने बताए । उनका अनुसार सीमान्तकृत वर्गको उत्थानमा लाग्नुपर्ने आवश्यकता देखिन्छ । राजनीति भन्दा बाहिर रहेर सरकारी कामकारबाही गर्नुपर्ने धारणा उनको छ । दलित समुदायलाई अवसरको खाँचो रहेको भन्दै चेतना स्तर बढाउनुपर्ने उनले बताए ।

लाहाचोक साना किसान कृषि सहकारीकी अध्यक्ष कमला पौडेलले आफुहरुले उद्यमशिलतामा लाग्ने महिलाहरुलाई सहज रुपमा ऋण प्रवाह गरिरहेको बताइन् । महिला दिदीबहिनीहरुलाई उत्पादनमा जोड दिन लगानी गरिएको भनाई उनको छ । दुध उत्पादन सँगै तरकारी खेतीमा लाग्न समेत प्रेरित गरिरहेको उनले सुनाइन् ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले महिला संवाद कार्यक्रमले गाउँको आवाजलाई बुलन्द बनाउने विश्वास व्यक्त गरिन् । पत्रकारले शहर मात्र केन्द्रित नभई गाउँका कथाव्यथा लेख्नुपर्ने धारणा उनको छ । फलस्वरुप आफुहरुले यसपालीको नारी दिवसमा गाउँमा कार्यक्रम गरिएको जानकारी उनले गराइन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङले जनप्रतिनिधि भएपछि सोचेजस्तो काम गर्न नसकेको स्विकारे । तर प्रयासरत भने भइरहेको भनाई उनको छ । उनले पोखराले मर्दीखोलाको पानी खाइरहँदा रोयल्टी माछापुच्छ्रे गाउँपालिकालाई तिर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । गाउँको कन्जरभेसन एरियामा व्यवसाय गर्न गाह्रो परेको भनाई उनको छ । यसका लागि केन्द्र र प्रदेशले समेत सहजीकरण गर्नुपर्ने धारणा उनले राखे । स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार दिइरहँदा सदुपयोग गर्ने अधिकार समेत दिनुपर्ने माग उनले गरेका छन् । कार्यक्रममा स्थानीयले आफ्नो अनुभव सँगै जनप्रतिनिधिलाई प्रश्न गरेका थिए ।

Leave A Reply

Your email address will not be published.