काठमाडौं :
शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्काले अभिनय गर्ने भएका छन्। शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेपछि फिल्ममा काम गर्ने पक्का भएका हुन्।
हाल प्रि प्रोडक्सनमा रहेको यो फिल्ममा पुष्पसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ। शिवले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्दै छन् । अभिनेता पुष्प खड्काले आफु यो फिल्ममा अनुबन्ध भएको कुरा परिचयलाई जानकारी दिएका छन्।
उनले भने,‘शुक्रबार यो फिल्मका लागि निर्माणपक्षसँग कागजी सम्झौता भएको हो। अब छिट्टै काम हुनेछ।’
जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथालाई समेटिएको छ। निर्देशक कार्कीका अनुसार अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ। सो युवकको कथा यो फिल्म बन्नेछ। उनले यो फिल्मको ७० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुने बताए। नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ’प्रोस्थेटिक मेकअप’को प्रयोग गरिने निर्माण पक्षको ठोकुवा छ।
फिल्ममा कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल)को छ। सुसन प्रजापतिले छायाङ्कन गर्ने यो फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल रहेका छन् भने कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने छ। त्यस्तै फिल्मका कोरियोग्राफर रामजी लामिछाने हुन्। आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो फिल्मको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । आरती शाही निर्माता रहने यो फिल्ममा तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन् ।