काठमाडौँ :
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बेलुका सुन्धारास्थित सिडिसी सिनेमा घरमा छोरी मानुषी भट्टराईसँगै फिल्म ‘द रेड सुटकेस’ हेरेका छन्। आइतबार बेलुका यो फिल्म हेरेपछि उनले यसको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन्।
फिल्म हेर्दै उनले द रेड सुटकेस जस्तो फिल्म आजसम्म आफुले नहेरेको प्रतिक्रिया दिए। फिल्म सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले द रेड सुटकेसको शैली प्रति जिज्ञाषा राखेका थिए। उनले आफुलाई यो फिल्मको भन्ने कथा शैली फरक र अनौठो लागेको प्रतिक्रिया दिए।
उनले भने,‘यस्तो खाले नेपाली सिनेमा पहिले कहिलै बनेको छ ? कस्तो सिनेमा भन्छन यसलाई ?
उनको प्रश्नको जवाफमा लेखक तथा निर्देशक फिडेल देवकोटाले आफूले म्याजिक रियालिजमको प्रयोग गरेर सिनेमा बनाएको बताए। उनको कुरामा निकै चाख राख्दै बाबुरामले थपे,‘ग्याब्रियल मार्खेजको जस्तो हैन त ?’
बाबुरामले फिल्मको विषयवस्तु समसामयिक भएको र दृश्यहरु पनि सुन्दर रहेको प्रतिक्रिया दिएका थिए । फिल्मको प्रशंसा गरिरहँदा उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराएका थिए । बाबुरामसँगै फिल्म हेर्न आएकी मानुषी भट्टराईले भने फिल्म नेता तथा नीति निर्माण गर्ने ओहदामा बसेका सबैले अनिवार्य रुपमा हेर्नुपर्ने टिप्पणी गरेकी थिइन्।
‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौँ भन्ने कुरा फिल्मले छर्लङ देखाएको छ । यो आम दर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने फिल्म बनेको छ । मलाई त फिल्म असाध्यै सुन्दर लाग्यो,’मानुषीले भनिन्।
चैत ३० गतेबाट मुलुकका ४ दर्जन भन्दा बढी फिल्म घरमा प्रदर्शन भइरहेको फिल्म ‘द रेड सुटकेस’ले बलियो वर्ड अफ माउथ पाएको छ । लेखक,कवि तथा कलाकारले फिल्मको मुक्त कण्ठले प्रशंसा गरे । उनले कलात्मक फिल्म निर्माणको इतिहासमा नयाँ मानक स्थापना गरेको प्रतिक्रिया दिदै निर्माण टिमलाई बधाई दिए।
आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्ममासौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ।