सुचना, समाचार र मनोरन्जन

अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चेपाङ समुदाय

चितवन /

जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन्। गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उनी बताउँछिन्।

उनले भनिन्,“छानो बउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले रु २५ हजार सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ।”

उनको खोरमा अहिले १५ वटा बाख्रा छन्। उनले यस वर्ष छवटा खसीबोका बिक्री गरेर रु ६० हजार आम्दानी गरेको बताइन्। वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताइन्।

उनले भनिन्, “गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए। इच्छाकामनामा प्रशस्त घाँसे जंगल भएकाले समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उनले बताए। बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने उनी बताउँछन्। अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्याउने लक्ष्य रहेको उनले बताए।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए। गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उहाँले बताउनुभयो । बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्र्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघिबढ्न मद्दत पुग्ने उनी बताउँछन्।

गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ। यही आवमा थप १० वटा खोर निर्माण हुने उनले बताए। गत आवमा दुई सय ८७ वटा खोर निर्माण भएका थिए । बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

Leave A Reply

Your email address will not be published.