सुचना, समाचार र मनोरन्जन

आज मातातीर्थ औंसी

बुधबार मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ।

वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले राससलाई बताए। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ।

मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा रहेका जानकारी दिँदै उनले मातातीर्थ संरक्षण तथा विकास संस्थाले मेला व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको बताए।

Leave A Reply

Your email address will not be published.