सुचना, समाचार र मनोरन्जन

पोखराका फोटो पत्रकार प्रेम थापालाई ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान’को सम्मान

उनलाई मंगलबार काठमाडौंमा आयोजित समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरेका हुन्।

पोखरा /

पाँच वर्षदेखि फोटो पत्रकारका रुपमा काम गरिरहेका पोखराका प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट सम्मानित भएका छन्। उनलाई मंगलबार काठमाडौंमा आयोजित समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरेका हुन्।

प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत फोटोग्राफी विधातर्फ पत्रकार थापा वागमती प्रदेशबाट नगद ३० हजारसहित पुरस्कृत भएका हुन् ।

सोही कार्यक्रममा यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई १ लाख ५० हजार पुरस्कारको राशि सहित सम्मानपत्र प्रदान गरियो भने १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कारबाट सुरेश लवट तुलाधरलाई सम्मानित गरिएको थियो।

प्रतिष्ठानले यसअघि गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसा यो प्रदर्शनी ३० जेठसम्म चल्नेछ।

प्रदर्शनी उद्घाटन गर्दै मन्त्री तामाङले प्रतिष्ठानले एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको जनाउँदै प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्य गरेको बताए । प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

Leave A Reply

Your email address will not be published.