काठमाडौं /
आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल जितेर भारतीय टोली फाइनलमा पुगेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेलपछि भारतका कप्तान रोहित शर्माले धेरै प्रश्नको जवाफ दिए ।
सेमिफाइनलमा जितबारे रोहितले भने, ‘यो जित निकै सन्तोषजनक छ र एक टोलीका रूपमा हामीले जित्न निकै मेहनत गरेका छौं । यो खेल जित्न सबैले कडा मेहनत गरेका छन् । हामीले परिस्थितिमा आफूलाई अनुकूल बनायौं र यो एकदमै चुनौतीपूर्ण अवस्था थियो। यो हाम्रो अहिलेसम्मको सबै जीतहरूको लागि हाम्रो कथा हो, हामीले हरेक परिस्थितिमा अनुकूलन गरेका छौं।”
रोहितलाई यो स्कोर पर्याप्त थियो ? भनेर सोधिएको थियो । यसको जवाफमा रोहितले भने, ‘पहिले हामीले १४० वा १५० राम्रो हुन्छ भन्ने सोचेका थियौं तर बीचमा हामीले रन बनायौं । मेरो र सूर्यको साझेदारी थियो। त्यसपछि हामीलाई थप २५ रन थप्न सकिन्छ भन्ने लाग्यो।’
“म मेरो दिमागमा लक्ष्य सेट गर्न सक्छु तर म ब्याट्सम्यानहरूलाई यो कुरा भन्न चाहन्न । तिनीहरू सबै खेलाडी हुन् र म उनीहरूलाई कति स्कोर बनाउनु पर्छ भनेर नसोची स्वतन्त्र रूपमा खेल्न दिन चाहन्छु । ब्याट्सम्यानले अवस्था राम्रोसँग बुझे र सोही अनुसार खेले । हामीले १७० रन बनायौं र मलाई लाग्छ हामीले धेरै राम्रो खेल्यौं।”
विराट कोहली चाँडै आउट भएका कारण रोहितले फेरि प्रश्नको सामना गर्नु परेको छ । हरेक पटक झैं यस पटक पनि रोहित कोहलीको प्रतिरक्षामा देखिए ।
रोहितले भने, “उनी गुणस्तरीय खेलाडी हुन् र यो कुनै पनि खेलाडीसँग हुन सक्छ। हामीलाई उनको क्लास थाहा छ । हामीलाई हरेक ठूला खेलमा उनको योगदानको महत्त्व थाहा छ। जब तपाईं १५ वर्षदेखि खेल्दै हुनुहुन्छ, फर्म कुनै मुद्दा होइन। उनी राम्रो शेपमा छन्, उनको नियत पनि राम्रो छ। सायद उनले फाइनलको लागि आफूलाई जोगाइरहेका छन् ।
फाइनल खेलको बारेमा रोहितले भने – उनको टोली धेरै शान्त छ र सबैलाई थाहा छ यो ठूलो अवसर हुनेछ। रोहितले भने, ‘हामी स्थिर र शान्त छौं । शान्त रहनुले ठूला निर्णयहरू लिन मद्दत गर्दछ र यो आवश्यक पनि छ किनकि हामीले राम्रो निर्णयहरू लिनु पर्छ।’