सुचना, समाचार र मनोरन्जन

ईश्वरबाट आशावादी ध्रुव भन्छन्,‘ईश्वरमा निडर र निष्टावान चरित्रमा छु’

काठमाडौं :

आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’ लिएर निर्माण टिम प्रचारप्रसारको दौडमा छन्। यहि क्रममा फिल्ममा अभिनेता तथा निर्माता ध्रुव थापा निकै उत्साहित देखिएका छन्। फिल्म रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी रहेको बताउँछन्।

उनले भने,‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ।

हाल अमेरिकामा बसोबास गरिरहेका ध्रुव नेपाली फिल्म निर्माणमा समेत होमिएका छन्। यस फिलममा ध्रुवका अलजा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको पनि अभिनय छ। दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुवले आफुलाई खुशी लागेको बताए।

उनले थपे,‘कामको संख्याका आधारमा मसँग काम गर्ने कलाकारहरु सिनियर हुनुहोला । तर समय र अनुभवले म आफूलाई जुनियर मान्दिनँ । किनकी एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो मैले राम्रोसँग बुझेको छु। फिल्ममा स्थापित कलाकारहरुसँग काम गर्न निकै सजिलो भयो । म आफूलाई नयाँ कलाकार जस्तो लाग्दै लागेन । केही समय ग्यापिङ भए पनि म आफूलाई निरन्तरता दिएको कारणले गर्दा म आफूलाई पुरानै कलाकार भन्न रुचाउँछु ।’

ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतीमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा थालेका थिए। उनले पुराना कुरा सुनाउँदै भने,‘मैले विभिन्न स्टेज नाटक, रेडियो नाटक, भिडियो फिल्म, टेलिफिल्म हुँदै केही फिचर फिल्ममा अभिनय पनि गरें। म कला क्षेत्रमा स्थापित हुन नसकेको मात्र हो । पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद, कृपावाद आदिले गर्दा म केही समय हराए । अहिले सबै कुराको एडजस्ट भएको छ । त्यसैले नेपाली फिल्ममा पुनः फर्किएको भन्न रुचाउँछु ।’

‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे खुर्सानी’लगायत दर्जनौं सिरियलमा अभिनय गरेका उनले २५ वर्षअघि ‘परेलीको माझ’ र टेलिफिल्म ‘तिहार’ आफैले निर्माण गरेका थिए ।

फिल्म तथा टेलिफिल्म निर्माण र अभिनय दुवै गरेका उनले प्रदर्शनमा आउन लागेको पछिल्लो फिल्म ‘ईश्वर’ प्रति उनी निकै उत्साहित छन् ।
उनी भन्छन्,‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ । मैले यो फिल्ममा मुख्य पात्रको भूमिका निभाएको छु । त्यसकारण दर्शकको माया पाउनेमा विश्वस्त छु।’

पोखरामा जन्मिएका ध्रुवले कलाकार माओत्से गुरुङसँगै रंगमञ्चबाट काम सुरु गरेका हुन्। आफू माओत्से जस्तो स्थापित हुन नसके पनि त्यो स्थानमा पुग्न संघर्षरत रहेको उनी दाबी गर्छन्। कविता, गीत, गजल लेख्न रुचाउने ध्रुवले बर्षमा दुईवटा नेपाली फिल्म निर्माण गर्ने अठोट लिएका छन्।

‘त्यसको सुरुवात ईश्वरबाट गरेको हुँ’, उनी भन्छन् । उनले लेखेका चारवटा गीत युट्युबमा यसअघि नै आइसकेका छन् । फिल्म ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ।

Leave A Reply

Your email address will not be published.