काठमाडौं :
थर्ड आइ, लण्डनको आयोजनामा ‘नेपाली फिल्म फेस्टिभलको आयोजना हुने भएको छ। आयोजक टिमले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली फिल्म फेस्टिभल लण्डन २०२४’को बारेमा जानकारी दिएको हो। नेपालको लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त कार्यक्रम जुलाई ७ तारिखबाट भव्यताका साथ सुरु हुने छ भने यो महोत्सव जुलाई २० तारिखसम्म चल्नेछ।

धेरै लामो समयदेखि नेपाली चलचित्रसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गर्न लागेको हो। डिनेश डिसीका अनुसार यो चलचित्र महोत्सवमा पाँचवटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भइसकेका छन्। कार्यक्रम उद्धघाटन जुलाई ७ मा साँझ ४ ः ३० बजे “Tramshed, 51-53 Woolwich New Rd, London SE18 6ES” हलमा मा हुने छ।
उक्त हलमा प्रदिप शाहिको लेखन तथा निर्देशन रहेको चलचित्र ‘अन्तिम संस्कार’ र विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हल्कारा’ प्रदर्शन गरिने छ भने त्यस्तै जुलाई १४ तारिखमा देव थापा निर्देशीत चलचित्र ‘टुल्की’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’प्रदर्शन हुनेछ । त्यसै गरि कार्यक्रमको समापन २० तारिखमा साँझ पाँच बजेबाट Greenford Hall Ruislip Rd, Greenford UB6 9QN” हलमा हुने भव्य समारोहका साथमा हुने डिसीले बताए। उनका अनुसार सोही दिन चलचित्र ‘सरिता’को प्रदर्शन गरिने छ।
आयोजकले यो महोत्सवमा नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी वजार समेत विस्तार हुने विश्वास लिएको छ। कार्यक्रमलाई चलचित्र विकास बोर्ड, वाईवाई र नेपाल आदिले प्रायोजनको जिम्मा लिएका छन्।
जुलाई २० तारिखमा हुने यस महोत्सवको समापन समारोहमा नेपालबाट १४ जना चलचित्रकर्मी एवं कलाकर्मीहरु शम्भुजित बास्कोटा, भुवन केसी, दिलिप रायमाझी, प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप साही, दिया पुन, सर्मिला वर्देवा, रुपक डोटेल आदिको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा समेत सहभागी भएका बेनिशा हमाल,पुजा शर्माले यस्ता महोत्सवले नेपाली फिल्मको विदेशमा पनि विस्तार गर्न सहयोग पुग्ने कुरामा जोड दिए। 
आयोजकका अनुसार नेपालबाट सहभागी हुन जाने चलचित्रकर्मीहरु लण्डनस्थित होटल“Mercure London Heathrow Shepiston Lane, Hayes” बस्ने व्यवस्था गरिएको छ। बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवद्र्धन हुने विश्वास रहेको आयोजक थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटा बताए। यो महोत्सवको समापन समारोहमा वरिष्ठ संगीतकार मेलोडिकिगं शम्भुजित बास्कोटालाई दिर्घ साधना सम्मान (लाईफ टाईम अचिभमेन्ट अवार्ड)द्धारा सम्मान गरिने थर्ड आईको निर्णय रहेको छ।
फोटो : परिचय