काठमाडौँ/
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति एक बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ र एक सय ६० कायम भएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दीपायल रहेका छन् । निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको उहाँको भनाइ छ ।