काठमाडौ/
नेपालमा मनसुन भएको एक महिनामा मनसुनजन्य विपद् मुख्यगरी बाढीपहिरो र चट्याङका घटना तथा यसबाट मानवीय क्षति धेरै भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गएको वर्षभन्दा यसवर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा धेरैले बाढी, पहिरो, चट्याङ तथा ठूलो वर्षाका घटनामा वृद्धि भएको छ ।
मानवीय क्षति पनि अघिल्लो वर्षमा भन्दा यसपाली बढेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यसपाली बाढी, पहिरो, चट्याङबाट जनधनको धेरै क्षति भएको बताउनुभयो । प्रतिवेदन अनुसार गएको वर्ष एक महिनाको अवधिमा विपद्का मुख्य घटना चार सय ५१ वटा भएको थियो ।
यसपालि ६ सय ९१ वटा घटना भएको पाइएको छ । गएको वर्ष एक महिनामा ४२ जनाको ज्यान गएकोमा यसपालि ६९ जनाले ज्यान गुमाएका छन् । गएको वर्ष ५६ जना घाइते भएकोमा यसपाली ८९ जना घाइते भएका छन् । प्रभावित परिवार भने गएको वर्षभन्दा यस वर्ष एक महिनामा कमी देखिएको छ ।
गएको वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएकामा यसपालि एक हजार दुई सय ७२ परिवार प्रभावित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गएको वर्ष जेठ ३१ अर्थात् मनसुन सुरु भएको दिनदेखि एक महिना र यस वर्ष जेठ २८ गतेदेखि ३० दिनको अवधिमा भएको तथ्याङ्क हो ।