सुचना, समाचार र मनोरन्जन

आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने

काठमाडौँ/

आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै(कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक(दुई स्थानमा अति भारी वर्षा हुने पनि देखिन्छ ।’

मौसमविद् अधिकारीका अनुसार रातिको समयमा धेरै पानी पर्नु मनसुनको विशेषता नै हो । यसका धेरै कारणहरुमध्ये एउटा कारणबारे जानकारी दिँदै मौसमविद् अधिकारी भन्छन्, ‘अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ ।

Pach Pandav

गत १२ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ । सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको छ ।

गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१।६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२.४ र खुदीबजारमा १००.३ मिलिमिटर वर्षा मापन भएको छ ।

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.