सुचना, समाचार र मनोरन्जन
Sarangi

विश्वकै अग्लो गल्फ कोर्स अपर मुस्ताङमा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक प्रतियोगिता’ हुने

विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा ५० भन्दा बढी गल्फरहरुको सहभागिता रहने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले बताए ।

पोखरा /

अपर मुस्ताङ लोमान्थाङमा गल्फ प्रतियोगिता हुने भएको छ ।

सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ १ गते तेस्रो संस्करणको टप अफ द वल्र्ड गल्फ क्लासिक प्रतियोगिता हुने जानकारी गराइएको छ । विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा ५० भन्दा बढी गल्फरहरुको सहभागिता रहने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले बताए ।

गण्डकी प्रदेशका संस्थापक सांसद समेत रहेका उनले प्रतियोगितामा १० जना गैर आवसीय नेपाली गल्फरहरुको सहभागिता रहने उल्लेख गरे । उनका अनुुसार उच्च उचाइका कारण प्रतियोगितामा नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ । विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङ्गेस्ट ड्राइभका लागि पुरस्कार प्रदान गरिने उनले बताए । होल नम्बर ३ मा होल इन वन गर्ने खेलाडीलाई याक प्रदान गरिनेछ । जसलाई उनले अनौठो पुरस्कारको रुपमा परिभाषित गरेका छन् । विश्वको उच्च स्थानमा रहेको गल्फ कोर्सको प्रचारप्रसारका लागि प्रतियोगिता आयोजना गरिएको भनाई उनको छ ।

खेलमाध्यम पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास उनको छ । तेस्रो संस्करण सम्म आइपुग्दा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई अपर मुस्ताङ ल्याउन सफल भएको बिष्ट बताउँछन् । प्रतियोगिताकै समयमा स्थानीय संस्कृतिलाई समेत प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनले बताए । बिष्ट भन्छन् , “यो गल्फ कोर्स सिर्जना गर्नु मेरो सपना हो । म आशा गर्दछु संसारभरका गल्फरहरुले यस गल्फ कोर्सलाई आफ्नो बकेट लिस्टमा राख्नेछन् । आदर्श रुपमा मेरो लक्ष्य यो विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्समार्फत पर्यटन प्रवद्र्धन गर्नु हो ।” अगस्ट २०२२ मा उदघाटन गरिएको मुस्ताङ गल्फ कोर्सले २० मिलियन सदस्यता प्रतिहरु सहितको अग्रणी गल्फ पत्रिका गल्फ डाइजेस्टमा अभूतपूूर्व कभरेज प्राप्त गरेको थियो ।

गल्फ डाइजेस्ट र गल्फ च्यानलबाट विश्वको उच्च स्थान (४६५० मि.) रहेको गल्फ कोर्सको मान्यता दिइएको छ । प्रतियोगितालाई सफल पार्न लोमान्थाङ गाउँपालिका,सिटी एक्सपे्रस मनी ट्रान्सफर, प्रभु बैंक, बाह्रसिंह बिएर, लो मुस्ताङ हिमालयन रिर्सोट, सोल्टी पानी, जर्मन वेकरीले साथ दिएका छन्।

Leave A Reply

Your email address will not be published.