सुचना, समाचार र मनोरन्जन
Sarangi

बंगलादेशको राष्ट्रपति भवनमा हजारौं प्रदर्शनकारीको प्रवेश

काठमाडौं /

बंगलादेशका राष्ट्रपतिको निवास तथा आधिकारिक कार्यालय गणभवनमा हजारौं प्रदर्शनकारी प्रवेश गरेको त्यहाँको प्रमुख अखबार प्रथम आलोले जनाएको छ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेको केही समयपछि नै प्रदर्शनकारीहरी राष्ट्रपति निवासमा प्रवेश गरेका हुन् ।

प्रदर्शनकारीहरू प्रधानमन्त्रीको आधिकारिक निवास बंगभवनतर्फ पनि बढिरहेका छन् । प्रधानमन्त्री शेख हसिनाले देश छाडिसकेकी छिन् । राष्ट्रपतिको अवस्था भने स्पष्ट छैन । विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकै १०० भन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्रीले देश छाडेकी हुन् ।

प्रदर्शनकारीहरूले हसिनाको राजीनामाको माग गरिरहेका थिए । बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।

त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ । शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन् । उनले त्यो मौका पाइनन् ।

प्रधानमन्त्रीले देश छाडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता गरिरहेका छन् । बैठकमा राष्ट्रिय पार्टीका वरिष्ठ सहअध्यक्ष अनिसुल इस्लाम महमुद र पार्टीका महासचिव मुजिबुल हक चुन्नुलाई आमन्त्रण गरिएको छ ।

यो बैठक सैनिक मुख्यालयमा चलिरहेको छ । ढाका विश्वविद्यालयका कानून विभागका प्राध्यापक आसिफ नजरुललाई पनि सेना प्रमुख जनरल वकार–उज–जमानसँगको बैठकमा आमन्त्रित गरिएको थियो ।

सेना प्रमुख जनरल वकार–उज–जमानले आज सोमबार जनतालाई सम्बोधन गर्ने भएका छन् । यस कुराको पहिलो पटक इन्टर सर्भिसेस पब्लिक रिलेसन्स {आईएसपीआर} ले पुष्टि गरेको थियो। आईएसपीआरका अनुसार जनतालाई हिंसाबाट टाढा रहन र धैर्यता अपनाउन अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.