काठमाडौं :
हिन्दू महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।
२ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको देख्न सकिन्छ। नेपालमा भइरहेका बलात्कार सम्बन्धिका घटनालाई निर्माण टिमले कथावस्तु बनाएका छन्।
ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए। कोरोना अगाडीबाट नै सुरु गरिएको फिल्म निर्माणका क्रममा आफुले विभिन्न उतार चढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको बताए।
निर्मला पन्तको कथामा फिल्म निर्माण गर्नु भएको हो भन्ने प्रश्नमा उनले उनको मात्र नभएर हरेक चेलीको कथा भएको बताए। उनले पछिल्लो समय यस्तै प्रश्न आइरहेको र आफुले निर्मलाको मात्र नभएर बलात्कारपछि हत्या गरिएका बालबालिकाको कथालाई लिएको तर्क दिए।
आफुले यो सामाजिक कथामा फिल्म निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आएको समेत उनले जानकारी दिए। उनी सामाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेको र आफुले देवी निर्माण गरेको निर्देशक राईले बताए । आफ्नो फिलम रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए।
यस फिल्मको ट्रेलर परिलिज कार्यक्रममा फिल्मका मुख्य कलाकार नाजिर हुसेन र शिल्पा मास्के पनि उपस्थित भएका थिए। उनी यो फिल्मको सहनिर्माता समेत रहेकी छन्। उनले यो फिल्मको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा आफुले सघाएको बताइन्। समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो। सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ।
यो फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ। फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ। सन्जेन थापाको एक्सन रहेको छ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको यस फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्। जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन्। फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन्। फिल्मको प्रदर्शन भने यहि भदौ २१ गते प्रदर्शनमा आउँदैछ।