काठमाडौं :
आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आँखा’को टिजर सार्वजनिक भएको छ। बिहिबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत प्रिमियर गरेको हो।
सार्वजनिक भएको टिजर मर्मस्पर्शी भाव प्रस्तुत गरिएको देखिन्छ । टिजरमार्फत निर्देशक जौन योन्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन्। उनले काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी वस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मको कथा बनाएका छन्। जुन फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट मजाले प्रस्टिन्छ ।
पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को ‘आँखा’ टिजरले दिन्छ ।
लेखक तथा निर्देशक योन्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्धा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको भान हुन्छ।
फिल्मको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई टिजरमा स्थान दिइएको छ । यो फिल्ममा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह(निर्मातामा रेनुका कार्की ढोली छिन् ।
फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।