सुचना, समाचार र मनोरन्जन

जेसीआई नेपाल बिजनेस एकेडेमी २०२४ पोखरा ग्राण्डमा सम्पन्न

पोखरा/

 जेसीआई पोखराद्वारा आयोजित जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए) २०२४ पोखरा ग्राण्ड होटलमा भव्य रूपमा सम्पन्न भएको छ। यस प्रतिष्ठित कार्यक्रमले देशभरका व्यवसायिक पेशाकर्मी र युवा नेताहरूलाई एकै ठाउँमा भेला गराउँदै व्यवसायिक सिप, रणनीति, र नेतृत्व क्षमताका बारेमा महत्वपूर्ण ज्ञान प्रदान गर्‍यो।

कार्यक्रमको सफल व्यवस्थापनमा पोखरा जेसीजका अध्यक्ष देबराज शर्मा, संयोजक किरण केसी, र सम्पूर्ण जेसीआई पोखरा परिवारको उल्लेखनीय भूमिका रहेको थियो। राष्ट्रिय प्रशिक्षण समिति र टिम, जेसीआई नेपालको समर्थनमा आयोजना गरिएको यस कार्यक्रम उत्कृष्ट योजना र कार्यान्वयनको उदाहरण रह्यो। सहभागीहरूको स्वागत र आतिथ्यमा देखिएको न्यानोपन र व्यवस्थापनमा दिइएको ध्यानले सबैलाई प्रभावित बनायो।

पोखरा जेसिजले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्तरको यो बिजनेस एकेडेमीको आयोजन गरेको थियो। “दिगो विकासका लागि युवा नेतृत्व” भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले ‘Innovate for Impact’ विषयलाई विशेष जोड दिएको थियो।

चार दिनसम्म चलेको यो एकेडेमीमा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा प्रशिक्षण गराइयो, जसमा देशभरबाट आएका ६२ जना युवा उद्यमीहरूले भाग लिए। पोखराका प्रतिष्ठित १० कम्पनीहरूसँग व्यावसायिक साझेदारी गराउँदै, उनीहरूलाई प्रतिष्ठित उद्यमीहरूसँग अन्तरक्रियात्मक सत्रमा सहभागी गराइएको थियो। पोखरा जेसीजका अध्यक्ष अधिवक्ता देबराज शर्माले यस अवसरमा सहभागीहरूको ज्ञान, सिप, र क्षमतामा महत्वपूर्ण वृद्धि भएको बताउनुभयो।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा भएको थियो भने नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो।

यस वर्षको जेएनबीए कार्यक्रमको सफलताले आयोजकहरूको सहकार्य र प्रतिबद्धतालाई झल्काएको छ। कार्यक्रमले सहभागीहरूलाई महत्वपूर्ण ज्ञान र अनुभव प्रदान गर्नुका साथै समुदायिक भावना विकास गरायो, जसले यसलाई एक सम्झनायोग्य र प्रभावकारी अनुभव बनायो।

जेसीआई नेपाल बिजनेस एकेडेमी 2024 को सफल आयोजना र उल्लेखनीय उपलब्धिका लागि राष्ट्रिय प्रशिक्षण आयोग, जेसीआई नेपाल, अध्यक्ष देबराज शर्मा, संयोजक किरण केसी, र सम्पूर्ण जेसीआई पोखरा परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरिन्छ।

Leave A Reply

Your email address will not be published.