सुचना, समाचार र मनोरन्जन

समता साङ्गीतिक शतक श्रृङ्खला: पोखरामा साङ्गीतिक उत्सवको शिखर

पोखरा/

पाँच दशकदेखि साहित्य, कला र सङ्गीतको उत्थानमा क्रियाशील रहेको पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गर्ने समता साङ्गीतिकको १०० औं श्रृङ्खला आगामी शनिबार पोखरा इभेन्ट सेन्टरमा विशेष साङ्गीतिक उत्सवको रूपमा मनाइने भएको छ।

यस विशेष कार्यक्रमलाई ‘साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिनेछ। नेपाली सङ्गीतको गहिरो इतिहास बोकेका अग्रज कलाकारहरूको सम्मानसँगै कन्दरा ब्यान्डले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै सांगीतिक मञ्चलाई रोमाञ्चक बनाउनेछ।

कार्यक्रममा धर्मराज थापा, अरुण थापा, सरोज गोपाल बज्राचार्य, विनोद गौचन जस्ता महान सर्जकहरूको सम्झनामा समर्पित साङ्गीतिक प्रस्तुतिहरू हुनेछन्। रामभक्त जोजिजु, विनोद बानिया, इतु जोजिजु, रजनी ऋदम राई, सन्तोष बस्याल लगायतका प्रतिष्ठित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्, जसले कार्यक्रमलाई थप विशेष बनाउनेछ।

समता साङ्गीतिकको शतक श्रृङ्खला पोखरामा मात्र नभई नेपाली सङ्गीतप्रेमीहरूको लागि एक ऐतिहासिक क्षण हुने अपेक्षा गरिएको छ। कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले सङ्गीतप्रेमी सम्पूर्णलाई यस सांगीतिक उत्सवको आनन्द लिनका लागि आमन्त्रित गरिएको छ।

कार्यक्रमलाई पोखरा महानगरपालिका, सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, गण्डकी प्रज्ञा प्रतिष्ठान, र सुजल डेरीले समर्थन गरेका छन्।

Leave A Reply

Your email address will not be published.