सुचना, समाचार र मनोरन्जन

धरहरा ३ असोजदेखि सञ्चालनमा आउने

काठमाडौँ/

काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको ती मन्त्रीले जानकारी दिए ।

बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।

अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ । प्रशासनिक भवन र संग्रहालय समेत यहाँ बन्दैछ ।

Leave A Reply

Your email address will not be published.