सुचना, समाचार र मनोरन्जन
Sarangi

असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा

काठमाडौ/

गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् । ३४ वटा सडकका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भत्किएको सडक र बाढीले बगाएको पुल निर्माण गर्न झन्डै २० अर्बदेखि २५ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयले निकालेको विज्ञप्तीमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी गाडी सञ्चालन गरेको उल्लेख छ । अन्य राजमार्गहरुमा यात्रा सहज हुन थालेपनि बीपी राजमार्ग अझै कष्टपूर्ण छ ।

काभ्रेको भकुण्डेबेसीको चौकीडाँडादेखि सन्धुलीको नेपालथोकसम्म रोशी खोलाको बाढीले सडक बगाएपछि वैकल्पिक बाटो निर्माण गरी आबागमन खुलाइएको छ । तर सडक असहजका साथै गाडीको चापले समस्या रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोशीको बेलिब्रिज सञ्चालनमा आएको छ । बाढीले पुल बगाएको २५ दिनपछि आजदेखि बेलिव्रिजबाट यात्रुबाहक गाडी गुड्न थालेका हुन् । सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज तयार भएको छ ।

Leave A Reply

Your email address will not be published.