काठमाडौं/
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख नभएको र चीनसँग यस्तो कुरा पनि नभएको बताउनुभएको छ । आफूले यो भ्रमणमा ऋण सम्झौता नगरेको ओलीको भनाइ छ । आफूले पटक–पटक यो विषयमा स्पष्ट पार्दा पनि अनावश्यक हल्ला भइरहेकोमा ओलीले असन्तुष्टि पोख्नुभयो ।
‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटक–पटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन् ।’ तर प्रधानमन्त्री ओलीले ऋण सम्झौता नभएको बताए पनि बीआरआईको फ्रेमवर्कमा सहायता शब्द उल्लेख भएकाले नेपालले ऋण सम्झौता नकारेको मानिँदैन । फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ । ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडको अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ ।
पत्रकार सम्मेलनमा ओलीले अब भारत भ्रमणको पनि योजना बनाउने बताउनुभएको छ । ओलीले भारतको भ्रमण कहिले हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर अब व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । ‘अब भारत भ्रमणको एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुङ्ग्याउन सकिन्छ ?’ ओलीले भन्नुभयो।
आफ्नो चीन भ्रमणलाई भारतीय सञ्चारमाध्यमले अनावश्यक बहस चलाएको ओलीको सङ्गेत छ । उहाँले एमाले र कांग्रेस नेतृत्वको सरकारले पूर्ण कार्यकाल सरकार चलाउने पनि बताउनुभएको छ । अबको १७ महिनापछि आफूले सरकारको नेतृत्व कांग्रेसलाई दिने ओलीको भनाइ छ ।