कास्की :
लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ। यस महोत्सवमा लागी ७५ प्रतिशत स्टल बुकिङ भइसकेका छन।
महोत्सवमा रहने तिन सय ३६ वटा स्टल राख्ने योजना बनाएको छ। जसमध्ये सोमबारसम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको थिए।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ। महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।