सुचना, समाचार र मनोरन्जन

सात महिनामा दुई खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात

काठमाडौं/

सात महिनामा दुई खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको सात महिनाको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात भएको हो ।

यस अवधिमा ३६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धान, चामल, गहुँ र मकै आयात भएको छ । चामलमात्रै १० अर्ब ५८ करोड रुपैयाँको आयात भएको विभागको तथ्याङ्क छ । यस्तै १४ अर्ब ५१ करोड रुपैयाँको धान र नौ अर्ब ५ करोड रुपैयाँको मकै आयात भएको छ ।

विभागको तथ्याङ्कअनुसार सात महिनामा पाँच अर्ब ४८ करोड रुपैयाँको आलु, दुई अर्ब १३ करोड रुपैयाँको प्याज, छ अर्ब ८१ करोड रुपैयाँको लसुन, २५ अर्ब रुपैयाँको तरकारी, तीन अर्ब ९७ करोड रुपैयाँको दाल, १२ अर्ब ३२ करोड रुपैयाँको फलफूल, १६ अर्ब ४२ करोड रुपैयाँको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, पाँच अर्ब ४९ करोड रुपैयाँको चिया, कफी, दुई अर्ब ६१ करोड रुपैयाँको चिनी तथा चिनीजन्य कन्फेक्सनरी, ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ । नेपालबाट निर्यात नभएका र नेपालमा नै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुहरू पनि ठूलो मात्रामा आयात भएको छ ।

Leave A Reply

Your email address will not be published.