काठमाडौं :
गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ।
निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए। उनले मिडियासँगको कुराकानीमा आफुलाई वितरकले दिएको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको दाबी गरे। उनका अनुसार यस फिल्मले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ ।
यस फिल्मलाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन्। तीन नयाँ नेपाली चलचित्रहरू रिलिजका बाबजुद पनि हलहरूमा ुहोस्टेल ३ुको अधिक मात्रा शो कटौती भएका छैनन्। कतिपय हलहरूमा यस फिल्मको शो बढी रहेको देख्न सकिन्छ। यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ भने विदाका दिन भएर पनि दर्शकहरू हलमा उर्लिएको निर्माण पक्षको भनाई छ।
फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। यस फिल्ममा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।