काठमाडौं :
गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई व्यापक बनाउन थालेको हो।
सोही क्रममा हिजो बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा सिनेमाका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको देख्न सकिन्छ। सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकाश र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन्।
फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर वसन्त ऋतु आएको छ। त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा ‘वसन्त’ तयार भएको छ। ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ । बसन्त ऋतुमा फुल्ने लालीगुँरास जस्तै रंगीन पर्व फागु पर्वको शुभकामना।’
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु),अनुप बराल,कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन्।