काठमाडौं :
बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’मा समावेश गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक भएको छ। निर्माण पक्षले दर्शकको अत्यधिक माग आएपछि गीत रिलिज गरेको बताएको हो।
व्यापक चर्चा र प्रशंसा पाइरहेको फिल्मको यो गीतले पीडायुक्त शब्दहरू रहेको यस गीतले फिल्मकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ। यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ। यस गीतको संक्षिप्त अंश फिल्ममा समेत सुन्न सकिन्छ। फिल्मका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्नको लागि दर्शकबाट व्यापक माग आएपछि सार्वजनिक गरिएको बताए।
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरिहेको छ। बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो फिल्म हेर्दा दर्शकहरू भाव विह्वल भएका छन्।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ। यस फिल्ममा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
अहिले सोसल मिडियामा ‘अञ्जिला’को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन्। फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिम दंग देखिएको छ।