रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युत्विहीन भएका छन्।
रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ। यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ।
“आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत् ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,” युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए।
फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत्गृहहरूमा निरन्तर हवाई आक्रमणहरू गरिरहेको छ।
त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ। मस्कोका अनुसार, मङ्गलjfर रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र जापोरिझियामा नयाँ आक्रमणहरू भएका छन्।
विदेशमन्त्री सिबिगाले अमेरिका र युक्रेनबीच खनिज स्रोतसम्बन्धी सम्झौतामा पनि छलफल भइरहेको जानकारी दिए। सम्झौता भएमा अमेरिकाले युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँच पाउनेछ, जसको बदलामा युक्रेनले थप अमेरिकी सहायता प्राप्त गर्नेछ।
“अमेरिकी व्यवसायको उपस्थिति बलियो बनाउनु हाम्रो लक्ष्य हो। त्यसैले हामी अमेरिकी साझेदारहरूसँग मिलेर पारस्परिक रूपमा स्वीकार्य सम्झौता गर्ने प्रयास गरिरहेका छौं,” सिबिगाले भने।