काठमाडौं :
गत शुक्रबार सिनेमा हलहरुमा नेपाली फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ। हलमा लागेको यो फिल्मलाई दर्शकले मन पराइदिएका छन्। यतिबेला नेपाल भरका हलमा फिल्म ‘वसन्त’ले राम्रो दर्शक कमाई रहेको छ।
प्रकाश सपुतको डेब्यु निर्देशकीय यो फिल्म गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको हो। सोसल ड्रामा ‘वसन्त’ को कथा, पटकथा र संगीत निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न संघर्षको कथामा निर्माण भएको यो फिल्ममा प्रकाश आफैले मुख्य पात्रमा अभिनय गरेका छन्।
उनका अलवा यो फिल्ममा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे,खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय रहेको छ। उनी यतिबेला आफुलाई पायक पर्ने हलमा पुगिरहेका छन्। शनिबार हलमा पुगेका निर्देशक सपुतले आफुलाई परिक्षा दिन जानु अगाडिको जस्तो डर महशुस भएको बताए।
हलमा पुगेका प्रकाशले पत्रकारहरुसँग भने,‘फिल्म रिलिज भएपछि पहिलो पटक हलमा छिरेको छु। मलाई कस्तो परिक्षा दिन जानु अगाडि,स्टेजमा जानु अगाडि जुन किसिमको मुटु ढुक ढुक हुन्छ। त्यस्तै भइरहेको थियो। हल भित्र गइसकेपछि अडियन्सको र्याक्सन देखेर उहाँहरुले एकदमै सहज बनाईदिनुभयो।’
उनले थपे,‘शुक्रबार भन्दा शनिबार दर्शक राम्रो आउनु भएको छ। आशा छ आज भन्दा भोली अझैँ दर्शक आउनु हुनेछ।’
प्रकाश दर्शक हलमा आएको देखेर निकै उत्साहित भएको देखिन्थेँ। यस फिल्मका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्।