पोखरा :
पोखरा वार्ड नं. १७ — ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा-१७, बिरौटामा आयोजना हुने भएको छ। सो महायज्ञको औपचारिक संकल्प सभा आज एक विशेष कार्यक्रमबीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले महायज्ञको उद्देश्य, महत्व र विशेष कार्यक्रमहरूको विस्तृत जानकारी दिए। उनले धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले गण्डकी क्षेत्रका लागि यो महायज्ञ एक ऐतिहासिक अवसर भएको उल्लेख गर्दै कोटिहोम, हवन तथा यज्ञको आध्यात्मिक र वैज्ञानिक महत्वबारे प्रकाश पारे। महाराजले महायज्ञ अवधिभर हुने विराट ज्ञान सत्संग, भजन कीर्तन, ध्यान साधना, बाल संस्कार शिविर, तथा समाज रूपान्तरणसम्बन्धी प्रवचनहरू बारे पनि जानकारी दिए।
समृद्ध समाज र धार्मिक पुनर्जागरणको लक्ष्यसहित आयोजना गरिन लागेको यस कोटिहोम महायज्ञमा संकलन भएको रकममध्ये खर्च व्यवस्थापनपश्चात बाँकी रहेको रकमबाट पोखरा–१७ मा अवस्थित हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको संरक्षण तथा विकासका लागि पहल गरिने समेत जानकारी दिइयो।
संकल्प सभामा स्थानिय अगुवा, धार्मिक व्यक्तित्वहरू, युवा स्वयंसेवक, र महायज्ञ व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभाको समापनमा सबै सहभागीहरूले महायज्ञ सफल बनाउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
श्री गण्डकी कोटिहोम महायज्ञको संकल्पसभामा भारतको उडिसाबाट आएका कलाकार,मामाघर आश्रमका बालबालिका अनि मानव सेवा फाउण्डेसन नेपालकाका कालाकारहरुले प्रस्तुत गरेका आकर्षण नृत्य प्रस्तुत गरेका छन्।



