काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरूको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।
बिहीवार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजनीतिक दलहरूले शीर्ष नेताहरूलाई प्रदेशमा पठाउन नसकेको कारण प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताएका हुन्।
प्रदेशका समस्याहरू बल्झिएको र संघीयतामाथि प्रश्न उठ्न थालेकोले सरकार अन्तरप्रदेश परिषद्लाई व्यवस्थित बनाउन लागि रहेको दाबी गरे । उनले तीन तहको सरकारबीच समन्वय र सहकार्यको वातावरण बनाउन राष्ट्रिय समन्वय परिषद् समेत गठन गरिएको बताए ।
उहाँले संघीयताको सफल कार्यान्वयन गरी बलियो बनाउने कानून र ऐन बनाउन जरुरी रहेको बताए । उनले वित्तीय संघीयता कार्यान्वयन गर्ने ऐन हुँदाहुँदै पनि वित्तीय संघीयता कमजोर हुँदै गएको बताए । प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म संघीयताको सफल कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।
मुलुकमा रहेको विकासको असमानतालाई हटाउन तल्लो तहलाई वित्तीय अधिकार प्रदान गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।