सुचना, समाचार र मनोरन्जन

खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस

 

पर्सा : लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा भएको छ। वीरगञ्ज महानगर–२१ पटेल नगरका शिवहरि पटेलले वर्षातको पानीले चैतेधानको लागि फाइदा पुगेको बताए। ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो’, उनले भने, ‘वर्षातले केही हदसम्म भए पनि राहत महसुस गराएको छ।’

 

पछिल्लो समय तराई–मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैतेधान तथा मकैखेती सिजन सुरु भएको छ। वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताए । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ ।

 

 

त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन्। खडेरीले हिउँदे खेती प्रभावित भएपछि निरास बनेका कृषकहरू बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिएभने कोदो र धानको बीउ उम्रिन सकेको थिएन ।

 

वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् । ‘खडेरीका कारण मकै गोडमेल गर्न पाईएको थिएन, अब सहज भएको छ’, ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भने ।

 

Leave A Reply

Your email address will not be published.