सुचना, समाचार र मनोरन्जन

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी/

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ ।  सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।

लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई आधारभूत मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर कार्ययोजना कार्यान्वयन गरिएको हो । मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए ।

“नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियानलाई अघि बढाएका छौँ । सबै उमेर समूहमा मानसिक स्वास्थ्यका समस्या देखिएका छन्”, उनले भने, “मानसिक र सामाजिक स्वास्थ्य सुदृढीकरणका लागि रोमिङ नर्स सेवा विस्तार गरेका छौँ । मनोसामाजिक परामर्शदाता परिचालन गर्ने, बालविवाह न्यूनीकरण र प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ ।”

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले मानसिक स्वास्थ्य क्षेत्रलाई अझ सुधार गरेर अघि बढाउन प्राथमिकता राखिएको बताउनुभयो । प्राध्यापक डा विद्यादेव शर्माले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै नीति तथा बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.