सुचना, समाचार र मनोरन्जन

दिया अभिनित ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ :

नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन्,‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं ९ एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि छ,उहाँले सगरमाथा समेत आरोहण गर्नुभएको छ। यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो। सबै आमाहरूलाई सुखद आमाको दिनको शुभकामना। आउनुहोस्, हामी हाम्रा आमाहरूलाई आज मात्र होइन, उहाँहरूको जीवनभर प्रेम, माया र सम्मान गरौं।’

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।
निर्देशक प्रदीप शाही केहि दिन अघि कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन्। कान्समा शाही चयन भए संगै उनको फिल्म ‘एक्लो’ को चर्चा बढेको छ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्। बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर,कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन्।

Leave A Reply

Your email address will not be published.