अष्ट्रेलिया :
चर्चित गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन्। द भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा धमाका मच्चाएका छन्। करणलाई अष्ट्रेलियामा सम्मान समेत प्रद्धान गरिएको छ।
कन्सर्टका साथै अष्ट्रेलियामा रहेका नेपाली दर्शक तथा फ्यानहरुसंग मिट एण्ड ग्रिडमा समेत ब्यास्त भइरहेका छन्। अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा गत शनिबार साँझ करणले आफ्ना दर्जनौं हिट गीतहरु मार्फत दर्शकहरुलाई नचाएका थिए। ‘करण राई नाईट’ नाम दिइएको सो कन्सर्टमा सयौं दर्शकहरू करणसंगै उनको प्रस्तुतीमा झुमे। दर्शकहरुको वान्समोर र हुटिङपछि करणले लगातार ३ घण्टाजति धमाकेदार प्रस्तुती दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा करण राईको उपस्थितिमा खेलकुदको क्षेत्रमा उदीयमान प्रतिभाहरूको विशेष सम्मान पनि गरिएको थियो । करिब १५ वर्ष मुनिका खेलाडीदेखि भूतपूर्व भूटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूलाई करण राईको हातबाट सम्मान गरिएको थियो। सम्मानित ब्याक्तित्वहरुलाई करणले शुभकामना दिएका थिए । भुटानी अष्ट्रेलियन कम्युनिटि सपोर्ट ग्रुप इन अल्बेरीका अध्यक्ष डमर क्षेत्रीले कार्यक्रम सफल्ताको बारेमा जानकारी गराए।

त्यस्तै क्रिएटिभ जर्नी फाउन्डेसनको आयोजनामा केहि दिन अगाडी अष्ट्रेलियाको ताजमनियामा पनि करणको अर्को भब्य कन्सर्ट सम्पन्न भएको थियो। करणले कन्सर्टमा करिव एक घण्टा ३० मिनेट लगातार आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई झुमाएका थिए। कन्सर्टमा क्रिएटिभ जर्नी फाउन्डेसनको अध्यक्ष ओवेथ राईले करणलाई सम्मान हस्तान्तरण गरेका थिए। करणले पनि अष्ट्रेलियामा पाएको मायाले आफुलाई नयाँ संगीत सृजनाहरु गर्न उत्साहित बनाएको बताए।