काठमाडौँ /
यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यो प्रक्षेपण सार्वजनिक गरेको हो ।
भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म सास्कोफको ३१औं बैठक भएको थियो । सास्कोफमा दक्षिण एसियाका नौ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमार) का मौसमविद्हरू र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए ।
उक्त बैठकमा विश्व मौसम संगठन, भारत मौसम विभाग र अन्य क्षेत्रीय तथा विश्वव्यापी मौसम निकायहरूका विज्ञहरू समेतले २०२५ को मनसुनबारे सामूहिक पूर्वानुमान तयार गरेका हुन् ।
सास्कोफका अनुसार अनुसार हालको अवस्थामा एल निनो–दक्षिणी दोलन (एन्सो) र हिन्द महासागर द्विध्रुवीयता (इण्डियन ओसन डाइफल–आईओडी) दुवै तटस्थ अवस्थामा छन् । मनसुन अवधिमा यी जलवायु सूचकहरु तटस्थ अवस्थामै रहने सम्भावना छ ।
यद्यपि, विज्ञहरुले यस समयमा मौसमी पूर्वानुमानहरूमा अनिश्चितता हुने भएकाले नियमित रूपमा अद्यावधिक पूर्वानुमान र दीर्घकालीन पूर्वानुमान समेत हेर्न सल्लाह दिएका छन् ।
सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर नेपालको जल तथा मौसम विज्ञान विभागले राष्ट्रियस्तरमा मनसुन प्रक्षेपण सार्वजनिक गर्दछ । विभागका महानिर्देशक कमलराज जोशीले नेपालको सन्दर्भमा मनसुन कस्तो हुन्छ भनेर छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।
उनका अनुसार सास्कोफले गरेको प्रक्षेपण नेपालको सन्दर्भमा मिल्ने गरेको छ । यद्यपि नेपालको कुन भागमा कस्तो असर पर्छ भन्नेबारे भने जल तथा मौसम विज्ञान विभागले जानकारी दिने छ ।
सास्कोफले तयार पारेको नक्सामा पूर्वमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै र सुदूरपश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । त्यसैले ती क्षेत्रलाई नीलो र गाढा नीले रंगले संकेत गरिएको छ ।
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ७० देखि ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।
त्यस्तै यस वर्ष नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा, न्यूनतम तापक्रम र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको सास्कोफको प्रतिवेदनमा उल्लेख छ ।