सुचना, समाचार र मनोरन्जन

प्रथम लायन्स कप भलिबल : भारतीय टोली नेपाल पुलिससँग सोझो सेटमा पराजित

पोखरा : 

पोखरामा बिहीबारदेखि सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ।भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५—२३ ले जित हासिल गर्‍यो। दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो। पुलिसले दोस्रो सेट २५—१६ र तेस्रो सेट २५—२० ले जित निकाल्न सफल रह्यो।

यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो ।लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन भोलि पहिलो खेल इरानी टोली र गण्डकी प्रदेशबिच हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ । भोलिको दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबिचको खेल दिउँसो एक बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन्। भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन्। दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल बैशाख २२ गते हुनेछ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.