संसारमा दुख छ, दुखका कारण छन र दुख निवारणका उपाय छन । यो भनाई सिद्धार्थ गौतम वुद्धको हो । बहिरी संसारको प्रभाव बाट टाढै राखिएका गौतम वुद्धले एकदिन रोगी, अशक्त र घाटमा जल्दै गरेको पार्थीव शरिर देखे तव उनको ध्यान संसारबाट विग्रहित भएको थियो ।
ई.पू. को ६२३ मा नेपालको कपिलवस्तु जिल्लाको लुम्विनीमा वुवा सुद्धोदन र आमा मायादेवीको कोखबाट जन्मिएका गौतम वुद्धलाई विश्वले यसियाका ताराका रुपमा चिन्दछ । राजपरिवारमा जन्मिएका गौतम वुद्धको जन्म वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा भएको थियोे । वुद्धको ८० वर्षको जीवन अवधीका अनेक संयोग मध्यको एउटा संयोग उनको जन्म, वुद्धत्व प्राप्ती र मृत्यु वैशाख शुक्ल पुर्णिमाको दिनमा भएको थियो ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा नेपालको लुम्बिनीमा राजा शुद्धोदन र रानी मायादेवीका पुत्र राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । पछि उनै सिद्धार्थ गौतमले यस धर्तीमा एक नयाँ युगको सुरुवात गरेको विश्वास छ । हिन्दु धर्ममा वुद्धको जीवनलाई भगवान विष्णुको नवौं अवतार मानिन्छ ।
दुखबाट मुक्त हुनका अनेक किसिमका ज्ञान र प्रवचनहरुद्धारा जीवन व्यतित गरेका वुद्धले आफ्नो जीवनकालमा ८४ हजार भन्दा बढी प्रवचन दिएका छन । जसले संसारलाई दुखले भरिएको संसारमा सुख र सन्तुष्टिका साज ज्यून अभिप्रेरित गर्दछ ।
संस्कृतमा ‘बुध्’ को अर्थ ज्ञान प्राप्त गर्नु वा जाग्नु भन्ने हुन्छ । यही धातुमा ‘क्त’ प्रत्यय लागेर ‘बुद्ध’ शब्द बनेको हो । जसको अर्थ ज्ञान प्राप्त गरेको, बुझेको, बुद्धिमान् तथा जाग्रत अवस्थाको भन्ने हुन्छ । तपोबलले बुद्धत्व प्राप्त गरी यस अवतारमा वुद्धले मानिसहरूलाई उपदेश दिई अज्ञानताको निद्राबाट जगाउने काम गरे । संसारलाई शान्तिमार्गमा हिँड्न प्रेरित गर्दै जीवन–मरणको दुःखलाई सामान्यीकरण गर्न भुमिका खेलेका छन । बुद्धका उपदेशले संसारलाई हिंसा र युद्धको बाटो छाडी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्ग प्राप्त भयो । जीवन र जगतको अनित्यता सत्य भएको कुरा लोकले बुझ्न सक्यो । लोभ र तृष्णाले दुःख निम्त्याउने हुँदा मानिसलाई त्यागी, दानी बन्न र सम्पूर्ण प्राणीहरूलाई समभावले हेर्न सिकाउने बुद्धको शिक्षा संसारलाई प्रेरणादायी बन्यो । यसरी बुद्धका अनुयायीहरू एसिया हुँदै संसारभर फैलिए । बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार भयो ।
बुद्धले मुख्यरूपमा दुःखलाई सत्य तर स्वीकार गर्नैपर्ने विषयका रूपमा औंल्याउनुभएको छ । तर दुःखको कारणलाई नै पन्छाउने चेष्टा गर्ने हो भने दुःखबाट मुक्त हुन सकिन्छ भनी दुःख हटाउने उपाय पनि सुझाउनुभएको छ । यी उपदेशलाई चार आर्य सत्यका रूपमा लिने गरिन्छ ।
(१) दुःख सत्य– यो संसारको प्राकृतिक नियम नै दुःखदायी छ । यसर्थ सबै विषयवस्तु दुःखका कारण हुन्। जन्म, रोग, बुढ्याइँ, मृत्यु, संयोग, बिछोड आदि सबै प्रकृतिको नियम हुन्। यो ज्ञान भनेकै दुःख सत्य हो ।
(२) दुःख समुदय– दुःख हुने निश्चित कारणलाई दुःख समुदय भन्दछन । मानिसमा रहेको लोभ, मोह, रिस–राग, आशक्ति, तृष्णा, स्वार्थ आदिलाई दुःखका मूल कारण भनिएको छ । बौद्ध दर्शनअनुसार पतित्यसमुत्पाद–चक्र अन्तर्गतका जरामरण, जाति, भव, उपादान, तृष्णा, वेदना, फस्स, षडायतन, नाम–रूप, विज्ञान, संस्कार र अविद्याको चक्रलाई दुःखसमुदायका रूपमा लिने गरिन्छ। यी सबैलाई रोकेपछि मात्र तृष्णा निर्मूल हुन्छ र शान्ति प्राप्त हुन्छ ।
(३) दुःख निरोध सत्य– तृष्णा अर्थात् आशक्तिमा नै दुःखको जरो हुन्छ। लिप्सा, लोभ, मोह, बन्धन, वासना आदि दुःखका मूल कारणलाई जीवनामा आउन नदिनु वा रोक लगाउनु नै दुःख निरोध सत्य हो ।
(४) दुःख निरोधगामिनी प्रतिपदा सत्य– दुःखलाई रोक्ने उपाय वा मार्गका रूपमा दुःख निरोधगामिनी प्रतिपदा सत्यलाई लिइन्छ। यस मार्गका आठ प्रकारलाई आर्य अष्टाङ्गिक मार्ग पनि भनिएको छ । ती मार्गहरूमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछन् । यिनको परिपालनाले दुःख अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिन्छ ।
दुखबाट मुक्त हुनका लागि यस्तै अनेक किसिमका ज्ञान र प्रवचनहरुद्धारा जीवन व्यतित गरेका वुद्धले आफ्नो जीवनकालमा ८४ हजार भन्दा बढी प्रवचन दिएका छन । जसले मानव जगतलाई दुखले भरिएको संसारमा सुख र सन्तुष्टिका साथ ज्यून अभिप्रेरित गर्दछ ।