काठमाडौं,
नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ ।’
सांसद कुँवरले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे ।
‘राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ,’ उनले भने, ‘पटक(पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि सिकिस्त बिरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु ।’
कुँवरले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दुःखद् घटना भएकाले हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षसमेत गराए ।